२७ भदौ, बनेपा ।

काभ्रेपलाञ्चोक वालुवापाटी देउपुरमा आज ढिस्कोबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु भएको छ ।

घर नजिकै बाख्रा चराउन गएका बालुवापाटी देउपुर–६ का ५६ वर्षीय कालु तामाङको ढिस्कोबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

यसैबीच, आइतबारदेखिको निरन्तर वर्षाका कारण अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षाको पानी पसेपछि गैरीबिसौना देउपुर–३ स्थित टीकाराम दुलालको किराना पसल र हरिप्रसाद लामिछानेको घरमा क्षति पुगेको छ । उनीहरुको पसल र घरमा रहेको चिनी, धान, चामललगायत अन्नपात डुबेर क्षति भएको प्रहरीले जनाएको छ । रासस