१४ कात्तिक, काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका नेता बालकृष्ण ढुँगेल पक्राउ परेको विषयलाई लिएर माओवादीलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

रिपोटर्स क्लव नेपालले आज काठमाडौमा गरेको साक्षात्कारमा उनले यस घटनाले शान्ति प्रक्रियामा कुनै असर नपर्ने र यसलार्ई शान्ति प्रक्रियासँग जोड्न नमिल्ने बताए । उनले यो सर्वोच्च अदालतको आदेश अनुसार नै भएको र यसबाट कोही आत्तिन जरुरी नरहेको धारणा राखे ।
लेखकले आगामी केन्द्र र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गरे । साक्षात्कारमा राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले दुई गठबन्धन बन्नु मुलुकको हितमा नै रहेको स्पष्ट पारे । उनले मुलुकलाई एकदलीय अधिनायकवादको खतराबाट जोगाउनको लागि पनि प्रजातान्त्रिक शक्ति बलियो हुनुपर्ने जिकिर गरे । उनले चीनमा विकास भएपनि अहिलेसम्म प्रजातन्त्र नआएको आरोप लगाए ।