१५ भदौ, काठमाडौं ।
विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु आइरहेकोले इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले घटना प्रति गम्भीर ध्यानकार्षण भएको बताउँदै स्पष्टिकरण दिएको छ ।

गुगलले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स जिमेल र यूट्युबको क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको तर हाल गुगलले गरेको निर्णय अनुसार नेपालको आई एस पि कम्पनीहरुसँग अलग भएर गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ ।

गुगलको यस निर्णयको कारणले विगत ४ वर्षदेखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभरलाई विगत केही महिनादेखि गुगलले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समय (वेलुका) मा सरभरहरुको क्षमता अपुग भई रहेको संघले बताएको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफ्नो सरभर राख्न पनि ढिलाई गरी रहेको संघले जानकारी गराएको छ ।

 गुगलले आफ्नो सरभरको स्तरउन्नोति नगरेसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति क्षमा माग्दै गुगलले तत्काल यो समस्याको समाधान गर्ने विश्वास संघले गरेको छ ।