२३ मंसिर, चितवन।

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराईमा रहेका एफएम रेडियोले सद्भाव खल्बलिने गरी समाचार सम्प्रेषण गरेकै कारण तराई आन्दोलन अनावश्यक उचालिएको बताएका छन् ।

नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले तराईमा सञ्चालित एफएम रेडियोहरुले आन्दोलनलाई उत्तेजित पार्नेगरी समाचार सम्प्रेषण गर्ने, गीत बजाउने र शान्ति सद्भाव भड्कने गरी गतिविधि सञ्चालन गरेको आरोप लगाए ।

उनले भने, “समाचार, सूचना, घटना विश्लेषण यथार्थपरक हुनुपर्यो, तर तराईका एफएमले भड्काउने काम गरे, यो अत्यन्त गलत भयो, सद्भाव बिथोल्न कसैले पाउँदैन ।”

देशमा शान्ति कायम गर्नका लागि मिडियाको भूमिका हुनुपर्नेमा उल्टो राष्ट्रिय एकता, सद्भाव खल्बलाउन पाइन्छ ?, उनको प्रश्न थियो । सन्तुलित सामग्री दिने कुरामा सबै मिडिया लाग्नुपर्ने भन्दै उनले यसतर्फ ध्यान दिन पत्रकारलाई आग्रह गरे ।

फरक प्रसङ्गमा उहाँले नेतृत्वले सबै माग सम्बोधन गर्न नसकेको हुनसक्छ भन्दै उनले तराईमा यो तहको आन्दोलन भड्किने गरी पार्टीले बेवास्ता नगरेको बताए ।

तराईको आन्दोलन उच्छृङ्खल, अराजक र उदण्ड भएको भन्दै यसलाई रोक्न सरकारले भूमिका खेल्नुपर्ने बताए । जनताको भावना र औचित्यलाई सम्मान गर्नुपर्ने भन्दै उनले धम्कीको भाषा कसैको पनि स्वीकार्य नहुने बताए ।

‘दिल्ली धाउनु सिल्लीपन’– खनाल

सो अवसरमा एमालेका अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले आन्तरिक मामिलाका लागि भारतमा गुहार्न पुग्ने मधेसवादी दललाई ‘दिल्ली धाउनु सिल्लीपन देखाउनु’ भएको टिप्पणी गरे । आफ्नो घरभित्रको समस्या हल गर्नसक्ने क्षमता नेपालीमा भएको भन्दै उनले आन्तरिक मामला विदेशीलाई सुनाउनु राष्ट्रघाती चिन्तन भएको बताए ।

अन्तर्राष्ट्रिय र राष्ट्रविरोधी काम भैरहेको भन्दै उनले तराईका दलसंग एकआपसमा बसेर छलफल गरेर समस्याको समाधान खोज्न सकिने बताए । समस्या समाधानका लागि दिल्ली मात्रै होइन वेइजिङ र पश्चिम पनि धाउनु हुँदैन, देशलाई सवल, समृद्ध, एकताबद्ध बनाएर सार्वभौमसत्तासम्पन्न बनाउनुपर्छ भन्दै उनले भने, “विदेश नीतिका सम्बन्धमा हामी नेपालीका बीचमा एकमत हुन जरुरी छ ।”

यो पनि पढ्नुस्।

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

आफ्नै शरीरमा आगोलगाई आत्महत्या, आमा गम्भीर घाइते

भ्रष्टाचार नियन्त्रणका लागि अदम्य साहसको आवश्यकता: प्रमुख आयुक्त कार्की

सुष्मा स्वराज र नवाज शर्रीफको गोप्य सम्बन्ध रहेको भन्ने ट्वीटले सनसनी