२४ असार, काठमाडौं ।

दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २६ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९७ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ४१ तह जितेको छ ।

परिणाम आउन बाँकी रहेका ४ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, र कैलालीको धनगढी नगरपालिकामा कांग्रेस र झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वासमा एमालेले अग्रता लिइरहेका छन् ।

माओवादी केन्द्रले १२ वटा तह जितेर तराईका जिल्लामा पनि तेस्रो स्थान सुरक्षित बनाएको छ। संघीय फोरम र नयाँ शक्तिको गठबन्धनले ८ तह जितेका छन् भने लोकतान्त्रिक फोरमले ६ तह जितेको छ । राप्रपाले ४ तह, स्वतन्त्र उम्मेदवारले ३ तह जितेका छन् । स्वतन्त्रबाट विजयी निर्वाचन बहिष्कार गरेको राजपाका कार्यकर्ता हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस–माओवादीको भन्दा एमालेको बढी

तराईका १२ जिल्लाको नतिजाअनुसार कांग्रेस–माओवादीको भन्दा एमालेले बढी तह जितेको छ । कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख जितेको सिट जोड्दा ५३ हुन्छ । तर, एमाले एक्लैले ५६ स्थानमा प्रमुख पद जितेको छ ।

प्रदेश नं. १ मा एमाले–कांग्रेसबीच प्रतिस्पर्धा

प्रदेश नम्बर १ का तराईका चार जिल्लामा एमालेले १९, कांग्रेसले २० तहमा प्रमुख पद जितेका छन् । माओवादी केन्द्रको भने २ तहमा मात्र प्रमुख पदमा जित दर्ता गराएको छ । झापाका १५ तहमध्ये एमालेले ६, कांग्रेसले ५ र राप्रपाले ३ तह जितेका छन् । बाँकी एकमा एमालेले अग्रता लिएको छ। मोरङका १७ तहमध्ये कांग्रेसले ८, एमालेले ५, माओवादी केन्द्रले १, नयाँ शक्ति र संघीय फोरम गठबन्धनले १ तथा लोकतान्त्रिक फोरमले १ तहको प्रमुख जितेका छन् । मतगणना जारी रहेको विराटनगर महानगरपालिकामा कांग्रेसको अग्रता छ ।

सुनसरीका १२ तहमध्ये कांग्रेसले ६, एमालेले २, नयाँ शक्ति–संघीय फोरमले १ र लोकतान्त्रिक फोरमले २ तहको प्रमुख पद जितेका छन् । मतगणना जारी रहेको धरान उपमहानगरमा एमालेले अग्रता लिइरहेको छ । उदयपुरका ७ स्थानीय तहमध्ये एमालेले ६ र कांग्रेसले १ स्थानीय तह जितेका छन् ।

प्रदेश नं. ५ मा एमाले बलियो

प्रदेश नं. ५ स्थित तराईका ६ जिल्लामा एमालेले कांग्रेसको भन्दा झन्डै दोब्बर तहमा जितेको छ । एमालेले २२ र कांग्रेसले १२ तहमा प्रमुख जितेका हुन् । माओवादी केन्द्रले ६ तहमा जितेको छ ।

दाङका १० स्थानीय तहमध्ये एमालेले ६, कांग्रेसले ३ र माओवादी केन्द्रले १ तहको प्रमुख पद जितेका छन् । त्यस्तै, रूपन्देहीका १६ तहमा एमालेले ७, कांग्रेसले २, माओवादी केन्द्रले १ तथा नयाँ शक्ति–संघीय फोरमले ४ र लोकतान्त्रिक फोरम र राजपाका स्वतन्त्र उम्मेदवारले १–१ तह जितेका छन्।

त्यस्तै, नवलपरासीका ७ तहमध्ये कांग्रेसले ३, एमालेले २ तथा माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले १–१ तह जितेका छन् । बाँकेका ८ स्थानीय तहमध्ये एमालेले ४, कांग्रेसले २, राप्रपा र समाजवादी फोरमले १–१ तह जितेका छन् । बर्दियाका ८ तहमध्ये एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेसले २ तह जितेका छन् ।

प्रदेश नं. ७ मा कांग्रेस–माओवादी बराबर

प्रदेश नं. ७ स्थिति कैलाली र कञ्चनपुरमा एमाले एक्लैले ११ तहका प्रमुख जितेको छ भने कांग्रेस र माओवादी केन्द्रले बराबर २–२ तहका प्रमुख जितेका छन् । कैलालीका १३ मध्ये एमालेले ७, कांग्रेस र माओवादी केन्द्रले २–२, लोकतान्त्रिक फोरमले १ तहमा प्रमुख जितेका छन् । मतगणना जारी रहेको धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, कञ्चनपुरको ९ तहमध्ये एमालेले ४, कांग्रेस र माओवादीले २–२ तहमा प्रमुख पद जितेका छन् । पुनर्वास नगरपालिकामा एमालेको अग्रता छ।

कुन दलले कहाँ जिते ?

एमाले – झापा: कन्काई, दमक, बिर्तामोड, कमल, भद्रपुर, शिवसताक्षी,

मोरङ: कानेपोखरी, ग्रामाथान, पथरी–शनिश्चरे, बेलबारी र मिक्लाजुङ, सुनसरी: इटहरी, बराह, उदयपुर: उदयपुरगढी, कटारी, रौतामाई, ताप्ली, त्रियुगा, बेलका, दाङ: गढवा, घोराही, तुल्सीपुर, दंगीशरण, बबई, लमही, रुपन्देही: बुटवल, कञ्चन, तिलोत्तमा, शुद्धोदन, सिद्धार्थनगर, सियारी, सैनामैना, नवलपरासी: सुस्ता, बर्दघाट, कपिलवस्तु: विजयनगर, शिवराज, बाँके: कोहलपुर, खजुरा, जानकारी र बैजनाथ, बर्दिया: ठाकुरबाबा, बढैयाताल, बाँसगढी, कैलाली: गोदावरी, गौरीगंगा, घोडाघोडी, चुरे, टीकापुर, मोहन्याल, लम्की, कञ्चनपुर: कृष्णपुर, बेलडाँडी, भीमदत्त, वेदकोट ।

कांग्रेस – झापा: मेचीनगर, गौरादह, झापा, बाह्रदशी, बुद्धशान्ति, मोरङ: उर्लाबारी, कटहरी, केराबारी, रतुवामाई, लेटाङ, सुनवर्षी, सुन्दरहरैँचा र धनपालथान। सुनसरी: इनरुवा, कोसी, गढी, देवानगन्ज, रामधुनी, हरिनगर, उदयपुर: चौदन्डीगढी, दाङ: राजपुर, राप्ती र शान्तिनगर, रूपन्देही: देवदह, मायादेवी, नवलपरासी: प्रतापपुर, रामग्राम र सुनवल, कपिलवस्तु: कपिलवस्तु, वाणगंगा, बुद्धभूमि, महाराजगन्ज, यशोधरा, बाँके: डुडुवा, राप्ती सोनारी, बर्दिया: गुलरिया, गेरुवा, कैलाली: जोशीपुर, बर्दगोरिया, कञ्चनपुर: महाकाली, शुक्लाफाँट

माओवादी केन्द्र– मोरङ: रंगेली, उदयपुर: सुनकोसी, दाङ: बंगलाचुली, रुपन्देही: ओमसतिया, नवलपरासी: पाल्हीनन्दन, बर्दिया: बारबर्दिया, मधुवन र राजापुर, कैलाली: कैलारी र भजनी, कञ्चनपुर: बेलौरी, लालझाँडी

नयाँ शक्ति–संघीय फोरम– मोरङ: जहदा गाउँपालिका, सुनसरी: झोक्राह, रूपन्देही: कोटहीमाई, गैडहवा, मर्चवारी, रोहिणी, कपिलवस्तु: मायादेवी, बाँके (१): नरैनापुर

फोरम लोकतान्त्रिक– मोरङ: बुढीगंगा, सुनसरी: दुहवी, बर्जु, रुपन्देही: सम्मरीमाई, नवलपरासी: सरावल

कैलाली: जानकी

राप्रपाले प्रमुख जितेको तह

झापा (३): कचनकवल, गौरीगन्ज र हल्दिबारी

बाँके (१): नेपालगन्ज उपमहानगर

स्वतन्त्रले प्रमुख जितेको तह

रुपन्देही (१): लुम्बिनी सांस्कृतिक नगर

कपिलवस्तु (२): कृष्णनगर, शुद्धोदन