२९ भदौ, काठमाडौं ।

नेकपा एमालेले स्थानीय तह तेस्रो चरणको क्रममा आफ्नो पार्टीका उम्मेदवार र कार्यकर्तामाथि आक्रमण भएको भन्दै निन्दा गरेको छ ।

एमालेले आज विज्ञप्ती निकालेर निर्वाचन नजिकिँदै जाँदा सत्तासंरक्षित गुण्डागर्दी र आक्रमणका घटनाहरु बढाउँदै मतदाताहरुलाई आतंकित पार्ने प्रयास भएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं. ४ का एमाले महिला सदस्य कुमारी देवी सदालाई बुधबार राती कुटपिट गरिएको र कुटपिटमा संलग्न रोशन लेखी, नसिव लेखी र कौशल लेखीलाई राती नै प्रहरीले पक्राउ परेपनि छोड्न दवाव आएको भन्दै विरोध गरेको छ ।

प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको गाडी वडा नं. ११ मा रोकेर हुलहुज्जत एवं तोडफोड गर्ने कोशिस भएको पनि एमालेले जनाएको छ । वडा सदस्यका उम्मेदवार भोलनाथ लेखीका छोरा एकनाथ लेखीलाई घाइते हुने गरी कुटपिट गरिएको जानकारी प्राप्त भएको एमालेको भनाई छ ।