५ भदौ, काठमाडौं ।
चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक नाका खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ ।

चिनियाँ उच्चस्तरीय वार्ताटोलीले सुरक्षाको कारण देखाउँदै खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले नया“ पत्रिकालाई बताए । यसअघि नेपालले खासा–ओलाङचुङगोला (ताप्लेजुङ), खासा–रसुवागढी (रसुवा) र खासा–यारी (हुम्ला) नाका प्रयोग गर्दै आएको थियो । यारी र रसुवागढी दुवै नाका खासाभन्दा पश्चिममा पर्छन् । अहिले रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आइसकेको सन्दर्भमा यी दुई नाकामा पुग्नका लागि खासा (तातोपानी) नाका प्रयोग गर्नै पर्दैन । त्यसो हुँदा तातोपानी नाकाबाट पूर्वको ओलाङचुङगोलाका लागि खासा नाका प्रयोग गर्न नमान्नुको अर्थ तातोपानी–खासा नाका सदाका लागि बन्द गर्ने चाहना राख्नु हो । चिनियाँ पक्षले यस्तो अडान राख्नुको अर्थ भूकम्पपछि बन्द रहेको खासा नाका चीन सधैँका लागि बन्द गर्न चाहन्छ भन्ने अर्थ राख्ने वार्तामा सहभागी नेपाली पक्षले बताएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

उच्चस्तरीय (राष्ट्रपति–प्रधानमन्त्री) तहको भेटमा खासा नाका खोल्न चीन सकारात्मक रहेको जानकारी दिने गरिएको भए पनि सम्झौता गर्ने कर्मचारी तहमा आउँदा सहयोग नपाइएको नेपाली उच्चस्तरीय वार्ताटोलीको भनाइ छ । नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकल सम्झौता भएको छ । त्यसमध्येको एउटा सडक नाका खासा–ओलाङचुङगोला हो ।

बुधबार बिहान ८ बजेदेखि सुरु भएको वार्ता बेलुका अबेरसम्म चलेको थियो । चिनियाँ पक्षलाई मनाउन हरसम्भव कोसिस गरे पनि नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले बताए । यसअघि दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता गर्ने कार्यक्रम थियो । वार्तामा १३ सदस्यीय चिनियाँ टोलीले भाग लिएको थियो भने १७ सदस्यीय नेपाली वार्ताटोली बनेको थियो ।

खासा–ओलाङचुङगोला नाका बन्द गर्न दिए पाँच नाका खोल्न तयार
चिनियाँ वार्ताटोलीले खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्न दिए नेपालले प्रस्ताव गरेका १२ वटा सडक नाकामध्ये पाँचवटा नाका खोल्ने प्रस्ताव गरेको छ । तर, चल्तीको खासा–ओलाङचुङगोला नाका बन्द गरेको अवस्थामा संसद्मा विरोध हुने, त्यस क्षेत्रका जनतालाई अझ जीवनयापन गर्न कठिन हुने भएकाले बन्द गर्न नहुनेमा नेपाली पक्षले अडान लिएको छ । त्यसपछि पाँच नयाँ सडक नाका खोल्नेबारेमा पनि थप प्रगति नभएको नेपाली टोलीको भनाइ छ । चिनियाँ पक्षले सम्झौताका लागि प्रस्ताव गरेका पाँच नाकामा पनि संख्यामा सहमत भएपछि मात्र नाम खुलाउने सर्त राखेका थिए । दुवै पक्षको अडानपछि वार्ता निष्कर्षमा पुग्न सकेन । यसअघि उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक नाका खुला गर्नेबारे विषय राखेको थियो । चिनियाँ पक्ष भने नाका संख्या अधिकतम घटाउने गरी वार्तामा प्रस्तुत भएको बुझिएको छ । चिनियाँ पक्ष तिब्बत मामिला र सुरक्षाको कारण देखाउँदै नाका नखोल्ने पक्षमा उभिएको थियो ।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत चीनको सडक प्रयोग गर्दै नाका खुला गर्नेबारेको प्रोटोकल सम्झौता भएका अन्य दुई सडक नाका छन् । तिनमा खासा–यारी, खासा–रसुवागढी हुन् । भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएको छ । अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ । दुई देशबीचको वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे चिनियाँ टोलीसँग विषय उठाउने नेपाली तयारी पनि असफल भएको छ । नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, परराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका थिए । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गरेका थिए । त्यस्तै, गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा थिए ।

अब के हुन्छ ?
नेपाली वार्ताटोलीका अनुसार चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौताको सम्भावना तत्कालका लागि सकिएको छ । चीनले आवश्यक ठानेमा र वार्तामा बोलाएमा नेपाल सहभागी हुने र आफ्ना कुरा राख्नेछ । त्यसबाहेक उच्चस्तरीय भेटमा पनि यो विषयलाई उठाउन सकिनेछ । साथै, खासा–ओलाङचुङगोला नाका नेपाली पक्ष वार्तामा सहमत नभएकाले तत्कालका लागि बन्द हुनेछैन । बन्द भएको घोषणा नगरे पनि भूकम्पपछि उक्त नाका सुचारु छैन ।