२ असोज, सिरहा ।

मधेसीको मुुद्दा सम्बोधन नगरी प्रमुख तीन दलले जर्वजस्ती जारी गर्न लागेको संविधानको विरोधमा सिरहामा कालोझण्डा देखिन थालेको छ । सरकारले संविधान जारी हुुने दिन असोज ३ गते देशबासीलाई दिपावली गर्न आह्वान गरेको अवस्थामा सिरहाबासीले भने कालोझण्डा गाडेर विरोध गर्न थालेका हुन् ।

सिरहाको गोलबजार, मिर्चैया, लहानलगायतका बजार र घरहरुमा समेत कालोझण्डा गाडिएका छन् । सिराहाको गोलबजारका अधिकांश स्थानमा कालोझण्डा देखिएको छ ।

यहाँका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका कार्यकर्ताहरुले समेत बिहानैदेखि कालोपट्टी बाँधेर जारी हुन लागेको संविधानको विरोध गरेका छन् । संविधानको विरोधमा सिरहाका मधेस केन्द्रित दलका स्थानीय नेता तथा कार्यकर्ताले आज हातमा कालोपट्टटी बाँधेका छन् ।