८ जेठ, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको तीन दिन बितिसक्दा पनि सहमति नभएपछि मतगणना गर्ने कार्य अनिश्चित भएको छ ।

गत शुक्रबारदेखि मतगणनामा विवाद भएपछि रोकिएको मतगणना आजसम्म पनि सुरु हुन नसकेको हो ।

सहमतिका लागि दलहरुबीच पटकपटक छलफल गरे पनि सहमति हुन नसकेको र भोलि (मङ्गलबार) बिहान ८ बजे पुनःसर्वपक्षीय बैठक आह्वान गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

दलबीच छलफलमा सहमति हुन नसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत निर्वाचन आयोगलाई पत्राचार गरेको र आयोगले आज साँझ मतपरिणाम घोषणा हुन बाँकी रहेको वडाका हकमा पुनःमतगणना गर्नसक्ने तर दलको सहमति लिएर निर्णय गर्नु भन्ने जवाफ पठाए पछि भोलि सर्वपक्षीय बैठक आह्वान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको ३ र ४ नं वडाको मात्र पुनः मतगणना गर्नुपर्ने माग राखेको तर एमालेले आफ्नो पार्टीलाई मात्रै लक्षित गरेकाले काँग्रेस विजयी भइसकेको वडा नं १ देखि ४ सम्म नै मतगणना गर्नुपर्ने माग राखेपछि समस्याको समाधान हुन सकेको छैन् ।

नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, नयाँ शक्ति, माओवादी केन्द्र पार्टीले मतगणनामा रहेका कर्मचारी एमाले समर्थित रहेकाले मतगणनामा एमालेको मत बढी आएको भन्दै मतगणना रोकेका बताइएको छ । रासस