१२ असार, काठमाडौं ।

निर्वाचन आयोगले गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएका जिल्लामा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ती निकालेर जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिने गरी आदेश जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा हिजो बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा ४९ बमोजिम त्यस्तो आदेश जारी गर्ने र जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय गरेको हो ।

प्रचलित संघीय कानूनमा जिल्लासभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएपछि आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको छ ।

नेपालको संविधानको धारा २२० को उपधारा (३) मा जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको र सो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने तथा सोही धाराको उपधारा (२) बमोजिम गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको छ ।