२४ पुस, काठमाडौँ।
विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा, भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा र स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा

विज्ञान तथा प्रविधिमन्त्री शिवलाल थापा

उनीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्दिष्ट गरेको सम्पत्ति विवरण फाराम भरी सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमार्फत सार्वजनिक गरेका हुन ।

स्थायी लेखा नं १०३९०९०२२ रहेका मन्त्री शिवलाल थापाले विभिन्न बैंक, वित्तीय तथा सहकारी संस्थामा रु २७ हजार ५०० शिक्षक निवृत्तिभरणबाट बचत गरेको उल्लेख गरेका छन् ।

उनले तनहुँ जिल्लाको भिरकोट, शिवपुर र व्यास नगरपालिकामा करिब एक रोपनी छ आना जग्गा श्रीमती इन्दिरा थापा र आफ्नो नाममा शिक्षण पेसा र पुख्र्यौली सम्पत्तिबाट आर्जन गरेको विवरण उल्लेख गरेका छन् ।

भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा

भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापा

त्यसैगरी, स्थायी लेखा नं १०३९०९०५१ रहेका भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री थापाले बैंक, वित्तीय तथा सहकारी संस्थामा रु पाँच लाख नगद, ३० तोला सुन र १२५ तोला चाँदीका गरगहना पैतृक सम्पत्ति र स्वआर्जनबाट बचत गरेको उल्लेख गरेका छन् ।

उनले काठमाडौँ जिल्लाका विभिन्न स्थानमा करिब ४० रोपनी जग्गाभित्र दुई, तीन र चार तलाका तीनवटा घर, मोटरसाइकल दुई, एक स्यान्ट्रो गाडी पैतृक र स्वआर्जनबाट जोडेको उल्लेख गरेका छन् ।

त्यसैगरी, स्वास्थ्य राज्यमन्त्री आलमले काठमाडौँको स्युचाटारमा चार आना र रौतहटमा १० बिगाहा तीन कट्ठा जमिन पुख्र्यौली सम्पत्तिका रुपमा रहेको उल्लेख गर्नु भएको छ । उहाँसँग चार भैँसी, दुई गाई, छ गोरु र ११ बाख्रा चौपायाका साथै २० तोला सुन, ५० तोला चाँदी रहेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा रु २० लाख नगद कृषि पेसाबाट आर्जन गरेको पनि उनले उल्लेख गरेका छन् । रासस