११ भदौ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको चण्डिभञ्याङ्ग गाविस जलबिरेमा आज फेरि ट्रक दुर्घटना भएको छ । बालुवा लिएर मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ४५ ५६ नम्बरको ट्रक विहान ७ बजे त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा परी घाइते भएका चालकसहित ६ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उद्दार गरिएकामा एक पुरुष, दुई महिला, दुई बालक र एक बालिका रहेको र उनीहरुको नाम खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । ट्रक पानीमै डुबिरहेकाले त्यसमा थप मानिस भए नभएको यकिन गर्न नसकिएको र ट्रक निकाल्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्तबहादुर कुवँरले जानकारी दिए । सोही सडक खण्डमा हिजो विहान रौतहटबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा २२ जनाको मृत्यु भएको थियो ।

ट्रक खसेको थाहा पाउने वितिक्कै प्रहरी दुर्घटनास्थल पुगेर उद्धार गरेको हो ।