२७ असोज, काठमाडौं । भारतको दार्जिलिङमा प्रहरी र गोर्खाल्याण्डका कार्यकर्ताबीच आज भएको झडपमा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङलाई पक्राउ गर्न खोज्दा भएको झडपमा अमिताभ मलिक नाम गरेका प्रहरी र पहिचान नखुलेका आन्दोलनकारीको मृत्यु भएको हो ।

साढे तीन महिना लामो अनिश्चितकालिन आमहड्ताल स्थगित भएको १६ दिनपछि प्रहरीले गोर्खाल्याण्ड आन्दोलनका अगुवा गुरुङलाई समात्न खोज्दा झडप भएको थियो । यो घटनाले गोर्खाल्याण्ड आन्दोलनलाई पुनः चर्काउने अनुमान छ । दुई साता यता दार्जिलिङ शान्त थियो ।

पश्चिम बंगाल सरकारले दार्जिलिङमा अलग राज्यको मागमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाबाट निस्कासित विनय तामाङ र अनित थापालाई जिटिएको प्रमुख–उपप्रमुख नियुक्त गरेको छ भने गुरुङलाई मुद्दा लगाएको छ ।