७ फागुन, काठमाडौं ।
संविधान संशोधन विधेयक टुंगो लगाउने र स्थानीय चुनाव मिति घोषणा गर्ने तयारीबारे छलफल जारी रहँदै गर्दा सत्तारूढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चार दिने भारत भ्रमण गरी स्वदेश फर्केका छन् ।

पार्टीको प्रवास संगठन अखिल भारतीय नेपाली एकता मञ्चको कार्यक्रममा भाग लिन अघिल्लो शुक्रबार दिल्ली पुगेका उनले सत्तारूढ भारतीय जनता पार्टी महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख राम माधव भेटे । त्यस्तै विपक्षी कंग्रेस आईका अन्तर्राष्ट्रिय विभाग प्रमुख करण सिंह, कंग्रेस आईकै आनन्द शर्मा र मणिशंकर ऐयर, भाजपा सांसद तरुण विजय जगदम्बा पाल, भाजपाको नेपाल सेल हेर्ने अजित सिंह, भाकपा माक्र्सवादी नेता सीताराम येचुरी, भारतीय राष्ट्रिय कंग्रेस नेता डीपी त्रिपाठीसँग पनि भेटेका थिए । माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका श्रेष्ठले यी सबै भेटमा नेपाली दूतावासका अधिकारीलाई समेत सामेल गराएका थिए । श्रेष्ठले भ्रमणभरि आफूले राजनीतिक नेतृत्वबाहेक अरूलाई नभेटेको जानकारी दिए ।

फाइल तस्बिर

नरेन्द्र मोदी सरकारको नीति निर्माणमा निर्णायक मानिने भाजपा महासचिव माधवसँग मंगलबार भेटदै श्रेष्ठले पछिल्लो समयमा नेपाल–भारत सम्बन्धको आधारबारे छलफल गरेका थिए । महासचिव माधवले पछिल्लो दिनमा भइरहेको प्रगतिबारे जिज्ञासा राखेपछि श्रेष्ठले सरकार केही दिनभित्रै चुनाव घोषणाका लागि तयारी गरिरहेको बताएका थिए ।

श्रेष्ठले दुवै देशले दुवैको सार्वभौमिक समानता, पारस्परिक हित, एकअर्काको जायज सरोकार सम्बोधन गर्न खुला किसिमले तयार भए सम्बन्ध उचाइमा पुग्ने भन्दै भारतीय पक्षको धारणा जान्न चाहेका थिए । ‘मैले आन्तरिक मामिलामा हात हाल्ने, सूक्ष्म व्यवस्थापन गर्दासम्म राम्रो हुन्न भनी बताएँ, त्यसो नगर्दा सम्बन्ध अनुपम हुन्छ, यसबारे हृदय खोलेर कुरा गरौं, एउटा बोल्ने अर्को गर्ने नगरौं भन्ने कुरा भयो,’ श्रेष्ठले माधवसँग भएको भेटबारे बताए ।

महासचिव माधवले नेपाली मामिलामा भारतीय पक्षले हस्तक्षेप नगरेको भन्दै नेपाली नेताहरू नै सुझाव माग्न आउने गरेको, अनि आफूहरूले सुझाव दिँदा अन्यथा बुझ्ने गरिएको गुनासो गरेका थिए । माधवले संविधान संशोधन र चुनाव मिति घोषणाले नेपाली राजनीतिमा सकारात्मक परिणाम ल्याउने भन्दै शुभकामना दिएका थिए । श्रेष्ठले विराटनगरमा भारतीय पक्षले राखेको फिल्ड अफिस हटाउनुपर्ने मागसमेत गरेको जानकारी दिए ।

विपक्षी कंग्रेस नेताहरूसँग भएका छलफल पनि पछिल्ला राजनीतिक विकासक्रममै केन्द्रित भएका थिए । यी सबै भेटमा श्रेष्ठले सरकारले चुनाव घोषणा गर्न लागेको, जारी संविधान संशोधन विधेयक निष्कर्षमा पुर्‍याउन प्रयास गरिरहेको बताएका थिए । मधेसवादी दलले पहिले संविधान संशोधन गराएर चुनाव चाहेकाले उनीहरूलाई सहमतिमा ल्याउन सरकारले प्रयास गरिरहेको श्रेष्ठले भारतीय नेताहरूसँग छलफल क्रममा बताएका थिए । श्रेष्ठको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले रिसेप्सन आयोजना गरेको थियो ।

श्रेष्ठले जवाहरलाल नेहरू विश्वविद्यालयस्थित सेन्टर फर साउथ एसिया स्टडिजले आयोजना गरेको प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै दुई देशका जनताले एकअर्काको विषयमा अझै पनि धेरै विषयहरू बुझ्न बाँकी रहेको धारणा राखेका थिए । ‘भारतीय पक्षमा नेपालको बारेमा धेरै तथ्यपरक जानकारीहरू रहेनछ, सरकारको धारणालाई नै सर्वसाधारणले समेत सही थापेको देखियो,’ उनले भने, ‘त्यसैको कारण एकअर्कालाई बुझ्ने प्रक्रिया कमजोर रहेछ । अब सुधार गरौं ।’ आजको कान्तिपुरमा खबर छ ।