२० मंसिर, नयाँ दिल्ली ।
अघिल्लो साता धार्मिक गुरु रविशंकरलाई भेट गर्न बेंग्लोर पुगेका परराष्ट्र मन्त्री कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा थिए ।

दिल्ली केन्द्रमा भाजपा सरकार निकटस्थ मानिने उद्योगपति चौधरीले भेटवार्ताहरुमा गरेको ‘सहजीकरण’का बारेमा उनी स्वयम केही बताउन चाहँदैनन् । तर, भेटवार्तामा अघिपछि रहेका कुटनीतिक अधिकारीहरु भने चौधरीको पहुँच र प्रभावबारे सन्दर्भ झिकिरहेका हुन्छन् ।

नेपाल मामलालाई लिएर दिल्लीमा देखिनेभन्दा ‘नदेखिने’ परिचर्चा र पहुँच कायमैं रहेको एक कुटनीतिक अधिकारीले बताए । ‘कांग्रेस नेता डा.करण सिंहले भारतीय संसदमा नेपाल/नेपालीको सरोकारमा आवाज उठाउनुमा उहाँको ससुराली साइनोले मात्रै होइन, यो साता पनि डा. सिंहले काठमाडौंमा थुप्रै नेपाली नेता/कुटनीतिज्ञलाई फोन गरेर स्थितीको गम्भिरता सम्झाउनुभएको छ,’ डा.सिंहका एक निकटस्थले भने ।

भारतीय संसदमा नेपाल मामलामा ध्यानाकर्षण गराउनेमध्ये सिताराम येचुरी, डीपी त्रिपाठी, केसी त्यागी, शरद यादवले बनाइरहेको संवाद र बहसको ‘सकारात्मक माहोल’ पनि सबैले देख्ने गरी बाहिर आइसकेको छ ।

यतिखेर विदेश मन्त्रालयका अधिकारीहरु नेपाल मामलामा प्रभाव र पहुँच राख्ने भारतीय सांसद एवं नेताहरुसँग ‘लबिङ’का लागि दौडधुप गरिरहेका छन्,’ नेपालका लागि एक पूर्वभारतीय राजदूतले भने, ‘कम्तिमा पनि मधेसी नेताहरु दिल्लीमा आएका बेला ‘नाकाबन्दी भारतले गराएको होइन, हामीले गरेको हो’ भन्ने लाइनमा मुख खोलाउन अहिले विदेश मन्त्रालय लागिपरेको छ ।’ आजको कान्तिपुरमा खबर छ ।