८ भदौ, काठमाडौं ।
प्रधानमन्त्रीद्वय देउवा र मोदीबीच साँझ ६ बजे भेटवार्ता भएको थियो । बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायलाई छोेटो सम्बोधन गरेपछि देउवा प्रधानमन्त्रीनिवास सेभेन रेसकोर्स लागेका थिए । भेटलगत्तै मोदीले ट्विट गर्दै देउवालाई स्वागत गरेको औपचारिक जानकारी दिएका थिए । उनले लेखेका छन्, ‘हाम्रो नजिकको र मित्रवत् छिमेकी नेपालका सम्मानीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई स्वागत गर्न पाउँदा खुसी छु ।’

नेपाल–भारत सम्बन्धका जानकार तथा पूर्वराजदूत प्रोफेसर एसडी मुनीले यस्ता भेटवार्तामा परियोजनाका विषयमा छलफल नहुने, तर समसामयिक राजनीतिक विषय र एक–अर्काका उच्च संवेदनशील चासोबारे छलफल हुने चलन रहेको बताए । ‘उनीहरूबीच के–के छलफल भयो भन्ने कुरा उनीहरूले नभनेसम्म हामीले अड्कलबाजी गर्न मुस्किल छ,’ मुनीले भने, ‘मेरो अड्कलबाजीमा नेपालमा बढिरहेको चीनको प्रभाव र विशेषगरी दोक्लामका विषयमा पक्कै छलफल भएको हुन सक्छ, संविधान संशोधन असफल भएको विषयमा पनि छलफल भएको हुन सक्छ । र, नेपाली भूमि जुनसुकै कारणले भारतविरुद्ध प्रयोग हुन नदिने विश्वसनीय प्रतिबद्धता भारतका तर्फबाट खोजिएको हुनसक्छ ।’ उनले यी विषय संवेदनशील भएको र हल्का रूपमा हेर्न नहुने पनि बताए । ‘परियोजनाबारे सम्बद्ध अधिकारीले जे सहमति गर्छन्, त्यसलाई सहमति दिने मात्रै हो, एक्लाएक्लै भेटमा राजनीतिक विषयमा नै छलफल हुने हो, सबै विषयमा छलफल भएको हुनसक्छ,’ मुनीले भने । आजको नयाँ पत्रिकामा खबर छ ।

नेपाल–भारत सम्बन्धका जानकार पूर्व मेजर जनरल अशोक मेहताका अनुसार संविधान जारीपछि प्रधानमन्त्री भएर पहिलोपटक कांग्रेस शीर्ष नेता दिल्ली आएको र कांग्रेसको महत्व दीर्घकालसम्मका लागि रहेको सन्देश मोदीले दिएका हुन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ०६३ को जनआन्दोलनपछि दिल्ली आएयता कांग्रेसका प्रधानमन्त्री भारत आएका छैनन् । गिरिजाप्रसादपछि प्रधानमन्त्री भएका सुशील कोइराला भारतको राजकीय भ्रमणमा नआई पदबाट हटेका थिए । त्यसपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा भारतको राजकीय भ्रमण गरेका थिए ।

‘नेपाली राजनीतिमा कांग्रेसको महत्व अहिले मात्र होइन, संसदीय निर्वाचनपछि पनि छ भन्ने सोच भारत सरकारको हुन सक्छ, त्यहीअनुसार उसले देउवालाई सम्मानमा कमी हुन नदिन र उनको महत्व थप स्थापित गर्न यस्तो भेटवार्ता आयोजना भएको हुन सक्छ,’ जनरल मेहताले भने । उनले सन् २००५ मा तत्कालीन राजा ज्ञानेन्द्रसँग प्रधानमन्त्री अटलबिहारी बाजपेयीले एक्लाएक्लै वार्ता गरेको र विशेष रात्रिभोज आयोजना गरेको पनि स्मरण गरे ।

‘मेरो अनुमानमा नेपालमा भारतको चासोबारे मोदीले आफ्ना चासो राख्नुभयो र देउवाले मोदीलाई त्यसबारे आश्वस्त पार्नुभयो,’ मेहताले भने, ‘आसन्न निर्वाचनका लागि मोदीले सहयोग गर्ने आश्वासन दिनुभएको हुन सक्छ । संसदीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा मोदीले चासो राखेको हुन सक्छ ।’