देउवा र पौडेलबारे कांग्रेस युवा नेताको तातो टिप्पणी: 

गुरुराज घिमिरे, केन्द्रीय सदस्य नेपाली कांग्रेस

कांग्रेसमा अहिले देखिएको विवाद के हो ?
पार्टी संचालन गर्ने आधार विधान हो । विधानको बाटोबाट, बन्दोबस्तका आधारमा पार्टी संचालन गर्ने हो । यो व्यवस्थापनलाई ‘सिरियसली’ आत्मसात गर्न तदारुकता देखाउनुपर्ने हो । तर, भइरहेको छैन । हामी सिद्धान्तले मात्र प्रजातन्त्रवादी भयौं तर, चरित्र व्यवहारले प्रजातन्त्रवादी भइएन । विधान अनुसार अघि बढ्छौ भनेपछि व्यवहाारिक बन्नुपर्छ । विधानको परिपालना सबैले गर्नुपर्छ । पार्टी चलाउने सभापतिले अभ्यास गर्नुपर्छ तर, यो सबै भइरहेको छैन । त्यसैले समस्या आएको हो ।

सभापतिको काम गराइसँग तपाईंहरुको असन्तुष्टी के केमा हो ?

यसमा पनि विधानकै कुरा आउँछ । संविधानको व्ययवस्थाले मुलुकमा काम नभए पूरै देशमा अस्तव्यस्ता र समस्या आउँछन् । त्यस्तै पार्टीमा पनि विधान मुख्य हो । विधानलाई आधािरत भएर समस्या समाधान गर्ने हो भने समस्या कहींनेर पनि आउँदैन । तर, इमान्दारीपूर्वक र विधानगत रुपमा विधानको परिपालना गर्न सभापति असमर्थ हुनुभएको छ ।

gururaj-ghimire-nepali-congress1

कांग्रेसमा दुई महिनाभित्र पार्टी तहलाई पूर्णता दिनेभने पछि इमान्दारीपूर्वक २ महिनामा नै गर्नुपर्छ । यसबाट पर जानु हुँदैन । तर, सभापतिले नियमित रुपमा गर्नुपर्ने भ्रातृ संस्थाहरु नेविसंघ र महिला संघको महाधिवेशन गराए पनि पदाधिकारी चयन गर्ने, केन्द्रीय समितिलाई पूर्णता दिने, पार्टी प्रवक्ता तोक्ने, विभाग गठन गर्ने, केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने, संसदीय बोर्ड गठन गर्नुपर्ने जस्ता कार्यधार दुई महिनामा अघि बढाउन त सक्नुभएन भएन ६ महिनामा पनि सुरु भएको अवस्था छैन ।

सुशील कोइराला सभापति हुँदा पदाधिकारी थप गर्ने प्रस्ताव दुई महिनामा आएको थियो । देउवाजीहरुकै कारण ९ महिनासम्म अलपत्र पर्न पुग्यो । यसपटक दुई महिनामा पनि प्रस्ताव नै आएनन् । यो भनेको सिद्धान्तले ‘सिरियसली’ र व्यवहारिक भइएन प्रजातन्त्रवादी भन्यौं तर, भएनौं भन्ने हो ।

भनेपछि समस्याको चुरो के हो त ?
माननसिकता र मनोविज्ञान नै समस्याको कारण हो । जसरी चलाए पनि पार्टी चलिहाल्छ नी भन्ने तदर्थवादी सोचले समस्या सिर्जना गरेको छ । हामी प्रजातान्त्रिक दल भनेर दुहाई दिन्छौं, यसको अभ्यास गर्ने पनि हामी नै हौं तर, प्रजातन्त्र चलाउन सजिलो छैन । त्यसैले विधि र विधानले पार्टी चलाउने हो भने समाधानमा जान सकिन्छ । तर, कांग्रेसभित्र विधि विधान र प्रक्रियाभन्दाबाहिरबाट समाधान खोन्दा समस्या आएको हो ।

गुटबन्दी अन्त्य गर्ने भन्ने अनि हरेक तहमा भागबण्डा खोजेपछि कसरी गुटबन्दी अन्त्य हुन्छ ?
कांग्रेसमा गुटबन्दी परम्परागत संस्कृति जस्तो देखिन थाल्यो । संस्थागत जस्तो देखिंदै, हुर्कदै, बढ्दै आयो । गुटगत हिस्सा खोज्ने हिजोका देउवाको चरित्र पनि ठीक थिएन, आज अर्को पक्षले खोज्ने भागबण्डा पनि उचित होइन ।

भनेपछि त या गुटबन्दी कहिल्यै समाधान नहुने रोग हो ?
यो नेतृत्वमा अझै उसको विवेकमा भर पर्ने कुरा हो । नेतृत्व व्यवहारिक र उनको विवेकीपना नआउँदासम्म यो समाधान हुँदैन । यस्तो चलिरहन्छ । भागबण्डा कहिल्यै पनि कसैका लागि पनि ठीक विषय होइन । गुटबन्दी बढाउँदै र संस्थागत गराउँदै लाने की कम गर्ने भन्ने कुरा नेतृत्व विवेक र व्यवहार, निर्णयमा भर पर्छ । नेतृत्वले आफ्नै गुटलाई अवसर दिंदा अर्कोले विश्वास गर्न सक्दैन । उसले पनि भाग खोज्छ । हिजो देउवाले भाग खोजे, आज अर्को पक्षले भाग खोज्दै छ ।

समाधान छैन त ?
समाधान नहुने भन्ने त छँदैछैन । तर, पार्टी सभापति र अर्का नेता रामचन्द्र पौडेलबीच गुटबन्दी नगर्ने प्रतिज्ञा चाहिन्छ । कार्यकर्ताको समुचित मूल्याकन गर्छौ । योग्यता अनुसार जिम्मेवारी दिन्छौ । गुटका भन्दैनौं जस्ता पक्षमा खुल्ला दिलले प्रतिज्ञा गर्नुपर्छ । देउवा र पौडेल यसरी मिल्दा कांग्रेसमा गुटबन्दी सकिन्छ । त्यसपछि केन्द्रीय समिति र मुलुकभरका कार्यकर्ताल पनि साथ दिन्छन् । तर, सभापतिले पनि गुट चलाइराख्ने हो भने यो रोग कहिल्यै निको नहुने घाउँझै बल्झिरहन्छ । सभापतिले पनि गुट होइन पार्टी चलाउनुपर्छ । प्रतिस्पर्धीले पनि यो तरिकाले पार्टी चलाउन सकिन्छ भनेर भनेर व्यवहारिक सुझाव दिनुपर्छ ।

भनेपछि कमजोरीरहित देउवा र पौडेल दुवै छैनन् ?
कमजोरी सबैको छ । सभापति भएको हुनाले नेतृत्वको हिसाबले उहाँको कजजोरी ठूलो छ र जिम्मेवारी पनि बढी उहाँको नै छ÷हुन्छ । सभापति भएपछि उहाँलाई किन गुट चाहियो ? तीनपटक प्रधानमन्त्री हुनुभयो । पार्टीको प्रमुख नेता हुनुभयो । अब उहाँलाई आँश, त्रास केही छैन । उदारतापूवर्क किन अघि बढ्न सक्नुहुन्न ? योग्यता अनुसारको जिम्मेवारी सबैलाई दिनुभयो भने राम्रो हुन्छ । पार्टी राम्रो बन्दै जान्छ ।

हिजो सुशील कोइरालाको शैलीलाई सभापति देउवाले पनि निरन्तरता दिएका हुन् ?
दुवैमा फरक देखिदैन । तर, सुशील भेटघाटमा सहज हुनुहुन्थ्यो । कार्यकर्तासँग अन्तक्र्रिया गर्न रुचाउनुहुन्थ्यो । उहाँसँग सबैले आफ्ना कुरा निर्धक्क भएर राख्न सक्थे । तर, अहिलेका सभापतिसँग कार्यकर्ताको भेटघाट सजिलो र सहज छैन । मेरो हकमा त त्यस्तो छैन तर, सबै नेता र कार्यकर्ताले सभापतिसँग निसंकोच कुरा गर्न सक्दैनन् । फेरि अर्को पक्ष सभापतिको घर पनि अपायक ठाउँमा (काठमाडौंको बुढानिलकण्ठ)मा छ । पार्टी कार्यालय (सानेपा) पनि अपायकमा छ ।

आन्तरिक रुपमा विभाजित र कमजोर हुँदा कांग्रेसले राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका कसरी खेल्न सक्छ ?
कांग्रेसले गर्ने निर्णय, धारणा, दृष्टिकोण, संस्थागत निर्णयले राष्ट्रिय राजनीतिलाई नै फरक पार्ने साँचो हो । तराई मधेस, माओवादी केन्द्रदेखि एमालेसमेतले कांग्रेसबाट अपेक्षा गरेका छन् । त्यसैले पुरानो, प्रजातान्त्रिक, विश्वसनीय पार्टी कांग्रेसमाथि यो अपेक्षालाई हामीले व्यवहारिक भएर पूरा गर्नुपर्छ । एमाले अध्यक्ष केपी ओलीले आशा गरेरै कांग्रेसलाई सुतेको बाघको रुपमा अथ्र्याएका हुन् । ओलीको भाषामा व्यंग्य भए पनि कांग्रेसको शक्ति र तागतमाथि आएको बोली हो ।

अब के हुन्छ के गर्नुहुन्छ ?
कांग्रेसले निर्णय लिनुपर्छ, अर्को सुविधान छैन । राष्ट्रलाई नकारात्मक निर्णय पार्ने निर्णय कांग्रेसले लिनुहुँदैन । मुलुकका समस्यालाई निकास दिने, तराई मधेसलाई समेटेन्, सीमाकंन, तराईमधेसको सवालमा प्रष्ट हुने र संविधान संसोसनका विषयमा कांग्रेस प्रष्ट हुनुपर्छ । यसका लागि संस्थागत धारणा बनाउन केन्द्रीय समितिको बैठक डाक्नुपर्छ ।
मतभेद हुनुपर्ने अवस्था हुनुपर्ने अवस्था छैन । द्धन्द्ध हुने, मनोमालिन्य हुने अवस्था देखिैदैन । निर्णय पारदर्शी बनाइदिने हो भने विवाद आउँदैन । त्यसैले बल सभापतिकै कोर्टमा छ । उहाँले नेता कार्यकर्ता सबैलाई समेटेर अघि बढ्नुपर्छ । आत्मविश्वासपूर्वक पार्टीमा प्रस्तुत हुनुपर्छ ।