४ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले भारतले गरेको अघोषित नाकाबन्दीको कारण देशले कठिन दिनहरुको सामना गरिरहेको बताएका छन् ।

उनले बन्द हडताल, नाकाबन्दीका कारण स्वास्थ्य संस्थामा, विरामी उपचारमा कठिनाई, एम्बुलेन्सहरु सञ्चालन हुन नकसकेको बताउँदै विद्यालय र स–साना विधार्थीहरु समेत गम्भीर मर्कामा परेको बताएका हुन् ।

KP oli PM

प्रधानमन्त्री निवास बालुवाटारमा आज भारतको भ्याक्सिन र औषधि उत्पादन गर्ने कम्पनी सनोफीले प्रधानमन्त्री दैबी प्रकोप उध्दार राहत कोषमा हस्तान्तरण गरेको ५२ लाख ८७ हजार १ सय ४२ रुपियाँ चेक बुझदै प्रधानमन्त्री ओलीले भूकम्प पीडित नेपाली जनताको सहयोगका लागि कम्पनीले गरेको आर्थिक सहयोग र सहानुभूतिको प्रशंसा गरेका थिए ।

यसअघि सो कम्पनीले भूकम्प पीडितका लागि नेपाल सरकारलाई करिब साढे ७ करोड रुपियाँ बराबरको औषधि र अन्य सहयोग गरेको कम्पनीले प्रधानमन्त्रीलाई जानकारी गरेको थियो ।

उनले सीमामा नाकबन्दीका कारण औषधी जस्ता अत्यावश्यक बस्तुहरु रोकिएका र इन्धन अभावले नेपालीहरुले विभिन्न खालका समस्या बेहोरिरहेको बेला कम्पनीको सहयोग र सदभावले आफ्नो मन छोएको धारणा व्यक्त गरेका थिए ।