२१ कात्तिक, दोलखा ।

दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ ।

जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ ।
यसअघि एक नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा अन्त्यमा दुई नगरपालिकासहित सात गाउँपालिकामा आएर सहमति बनेको हो ।

dolakha district-map

शनिबार साँझ बसेको बैठकले जिरीलाई नगरपालिका नै कायम गर्दै दुई नगरपालिका र सात गाउँपालिकामा ७५ वटा वडाको टुङ्गो लगाउँदै स्थानीय निकाय पुनःसंरचना आयोगलाई सिफारिस गर्ने सहमति गरेको हो ।

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द्र समेत टुङ्गो लागेको भए पनि केहीमा सामान्य विवाद देखिएको छ । यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ पालिकाको सिफारिस गरेको थियो ।

कुन पालिकामा कुन कुन गाविस र केन्द्र

मेलुङ गाउँपालिका : केन्द्र भेड्पु, डाँडाखर्क, मेलुङ, भेड्पु, घ्याङसुकाठोकर, पवटी र शैलुङ गाविस, शैलुङ गाउँपालिका: केन्द्र फोक्टे, फस्कु, काटाकुटी, मागापौवा, भुसाफेदा र दूधपोखरी गाविस, भीमेश्वर नगरपालिका : केन्द्र चरीकोट, भीमेश्वर नगरापलिका – बोच, लाँकुरीडाँडा र सुष्पाक्षमावती गाविस, कालिञ्चोक गाउँपालिका : आहाले केन्द्र – सुन्द्रावती, सुनखानी, बाबरे, कालिञ्चोक, लापिलाङ र लामीडाँडा गाविस, बिगु गाउँपालिका : केन्द्र चिहानडाँडा – बिगु, आलम्पु, चिलङ्खा, लादुक, बुलुङ, ओराङ, लामाबगर र खोपाचागु गाविस, गौरीशङ्कर गाउँपालिका : केद्र भोर्ले – गौरीशङ्कर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जुँगु गाविस, बैतेश्वर गाउँपलिका : केन्द्र पाडु – क्षेत्रपा, नाम्दु, काब्रे, मिर्गे र गैरीमुदी गाविस, जिरी नगरपालिका : केन्द्र जिरी – जिरी नगरपालिका र श्यामा गाविस, तामाकोसी गाउँपालिका : केन्द्र मानेडाँडा – झुले, जफे, मालु, सहरे, च्यामा, हावा र भिरकोट गाविस रहेका छन् । रासस, भक्त केसी