british college२१ असार, काठमाडौ । विगत २ वर्षदेखि नेपालमा बेलायती पाठ्यक्रममा आधारित उच्चशिक्षा दिँदै आएको ‘द ब्रिटिस कलेज’ ले बेलायतको युनिभर्सिटी अफ द वेष्ट अफ इङल्याण्ड, ब्रिस्टलबाट पूर्ण प्रमाणीकरणको मान्यता पाएको छ ।

सो विश्वविद्यालयका सह उपकुलपति प्रा पल गफको नेतृत्वमा आएको छ सदस्यीय विशेषज्ञ समूहले यही साता थापाथलीस्थित कलेजको भौतिक, प्राज्ञिक र व्यवस्थापनका विषयमा अध्ययन तथा निरीक्षण भ्रमण गरी पूर्ण प्रमाणीकरण गरेको हो ।

भ्रमण टोलीका सदस्यसहितको उपस्थितिमा आज यहाँ कलेजले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रा पलले कलेजको प्रगतिबाट आफूहरुलाई खुसी लागेको भन्दै आगामी दिनमा सहकार्यलाई मजबुत बनाउने बताएका छन् ।

सो विश्वविद्यालय विद्यार्थीलाई रोजगार दिलाउने विश्वमै उत्कृष्ट १० मध्ये एक मानिन्छ ।

कलेजले सीमान्तकृत र अवसर नपाएका समुदायका विद्यार्थीलाई छात्रवृत्ति दिने नीति लिएमा आफूहरुले सहयोग गर्ने बताए ।

कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले यस कलेजलाई एसियाका अन्य स्थानमा पनि विस्तार गर्ने तथा कलेजका विद्यार्थीलाई आफ्नो पढाइको केही अंश बेलायतमै पनि पूरा गर्न सक्ने अवसर प्रदान गर्ने जानकारी दिए ।

कलेजले हाल ए लेभल, बिएस्सी कम्प्युटरिङ बिबिए, ब्याचलर्स इन विजनेस एन्ड म्यानेजमेन्ट, एमबिए, एजुकेटिभ, मास्टर्स इन इन्फरमेसन म्यानेजमेन्टजस्ता पाठ्यक्रममा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कलेजमा हाल करिब ३०० विद्यार्थी अध्ययनरत छन् । रासस