५ साउन, जनकपुरधाम ।

धनुषा जिल्लाको सातै निर्वाचन क्षेत्रमा संविधान मस्यौदाको छलफल कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सर्वपक्षीय बैठकपछि स्थगित गर्ने निर्णय गरिएको जानकारी बैठकका सहभागी एवम् सभासद रामकृष्ण यादवले दिएका छन ।

मधेशवादीहरुको विरोध र ठाउँ–ठाउँमा भएको झडपका कारण सो छलफल कार्यक्रमलाई स्थगित गरिएको हो । जो व्यक्ति मस्यौदामा सल्लाह दिने ईच्छुक रहेका छन त्यसलाई इन्टरनेट लगायत वैकल्पिक विधिद्वारा पठाउन बैठकद्वारा अनुरोध गरिएको छ । बैठकमा चार दलका प्रतिनिधिका अतिरिक्त सभासद र प्रशासनिक अधिकारीहरुको सहभागिता रहेको थियो ।

यता मधेश अधिकार संघर्ष समितिको आह्वानमा गरिएको दुई दिवसीय बन्दको कारण आज पनि जनकपुर प्रभावित रहेको छ । जनकपुरको निजी स्तरबाट संचालित शैक्षिक संस्थान र व्यापारिक प्रतिष्ठान बन्द रहेको छ ।

समितिका कार्यकर्ताहरुले आज बिहानैदेखि नगरको चोक–चोकमा प्रदर्शन गरिरहेको छ । यसैबीच मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सहित ६ दलद्वारा जनकपुरको जनकचोकमा एक हप्तादेखि जारी रहेको रिले अनसनको मञ्चलाई जलाउने व्यक्तिलाई सो दलहरुले कारवाहीको माग गरेको छ ।

जिविसका कर्मचारीहरुको उक्साहटका कारण मञ्च जलाईएको फोरम लोकतान्त्रिक धनुषाका अध्यक्ष उमाशंकर अरगरियाले दाबी गरेका छन । यस सम्बन्धमा अरगरियाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले कारवाहीको माग गरेका छन ।