२८ मंसिर, काठमाडौं । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले अहिले पक्राउ पर्नेहरुको पहिचान भने खुलाएका छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बम विस्फोट गराएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकामध्ये एक विप्लव समूहको कार्यकर्ता भएको प्रहरीको दाबी छ । मृतकमध्येका राजेश्वर साह औषधि व्यावसायी रहेको र रकमसमेत लगानी गरिँदै आएको थियो । ‘पक्राउ परेका एक व्यक्ति पनि मृतक साहसँग रकम लिएको थियो’, स्रोतले भन्यो, ‘लिएको ऋण तिर्न मृतक साह पटकपटक दबाब दिँदै आएका थिए । सोही कारण विस्फोट गराएको हुनसक्ने अनुमान छ।’

पक्राउ परेका अर्का व्यक्ति विप्लवसँग आबद्ध भएको व्यक्तिसँग सम्पर्क रहेको बताइएको छ। विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज इन्सपेक्टर अमिर दाहाल, राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ। घटनामा घाइते साहकै तीन आफन्‍तको उपचार धरानमा भइरहेको छ ।

क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार मध्यरातमा शक्तिशाली बम विस्फोट भएको थियो । घटनामा एक प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको थियो । अन्य तीनजना गम्भीर घाइतेसमेत भएका छन् । विस्फोटमा परी राजेश्वर साह र उनका छोरा आनन्द साह र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक अमिर दाहालको मृत्यु भएको थियो ।

राजेश्वर र उनका छोरा आनन्दको घटनास्थलमै र प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।