३ माघ, मलेखु (धादिङ) । सरदमुकाम धादिङबेंसीबाट मध्य क्षेत्र खाल्टे गाविसको फ्याक्से जाँदै गरेको बस आज दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् ।

धादिङ यातायात व्यवसायी सङ्घमा आबद्ध बा ३ ख ८२६३ नंको बस खाल्टेको पतेनी गाउँको फेदीमा सडकबाट ४० मि तल खस्दा बसमा सवार यात्रु घाइते भएको उद्धारमा संलग्न रामबहादुर गुरुङले बताए ।

घटनामा १५ जना गम्भीर भएकाले जिल्ला अस्पतालमा उपचारका लागि लगिँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बसमा सवार दुई जना मात्र सकुशल र बाँकी सबै घाइते छन् । गाउँलेले घाइतेको उद्धार गरिरहेको र सदरमुकामबाट प्रहरी, एम्बुलेन्ससहितको टोली घटनास्थल आइपुगेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ । घटनास्थल सदरमुकामबाट पूर्वतर्फ रहेको १५ किमीको दूरीमा साँघुरो कच्ची सडक भएको ठाउँमा पर्छ ।