११ भदौ, उदयपुर । उदयपुरको हर्देनी गाविस–८ स्थित बसेरी गाउँमा अहिले खानेपानीको हाहाकार हुन थालेको छ ।

स्थानीय अँधेरी तथा लालकु खोलाको मुहानको पानी धारा जडान गरी वितरण हुँदै आएको भए तापनि अहिले पानीको मुहान सुकेपछि त्यहाँ खानेपानीको हाहाकार हुन थालेको हो ।water

भदौ महिना सुरु भएसँगै अहिले मुहान सबै सुक्न थालेपछि धारामा एक थोपा पनि पानी आउन छाडेको हर्देनी–८ का ललिताकुमारी पौडेलले बताए ।

पानी अभाव हुन थालेपछि करिब ७० घर गाउँले अहिले डेढ घन्टा पर मयङखु खोलाको पानी बोकेर खान बाध्य हुनु परेको स्थानीय कमलप्रसाद पौडेलको भनाइ रहेको छ ।

धारामा पानी आउन छाडेपछि हर्देनीको उपस्वास्थ्य चौकीमा बिरामीलाई औषधि खुवाउने पानीको समेत अभाव भएको उपस्वास्थ्य चौकीका इन्चार्ज अहेब पर्शुराम रेग्मीले बताए ।

यता उच्च मावि हर्देनीका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकले समेत पानीको अभाव भोग्नुपरेको विद्यालयका शिक्षक कृष्ण खड्काले बताए ।

बसेरीका खगेन्द्र राउत भन्नुहुन्छ, “धारा छ पानी छैन, पानी लिन डेढ घण्टा टाढा जान पर्ने बाध्यता रहेको छ, अहिले गाउँलेले सबैभन्दा बढी पिउने पानीको कष्ट भोग्नु परेको छ ।”

छिमेकी गाविस मयङखुको खोलाबाट वैकल्पिक खानेपानीको व्यवस्था गर्न सकिने भए तापनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान नसक्दा हर्देनी–८ का जनताले पिउने पानीको समस्या भोग्नुपरेको गाउँलेको गुनासो बढ्दै जान थालेको पाइन्छ । रासस