३ असोज, भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसरमा नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ ।

शुक्रबार बिहान नगरपालिका परिसरमा नै राखिएको गाडी लक्षित गरी कुकुर बम विस्फोट भएको हो । शुक्रबार बिहान तीन बजेतिर नगरपालिकाको कुकुर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।

विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको प्रहरीले जनाएको छ । ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएको डीएसपी मगरले बताए ।

त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शंकास्पद वस्तु पनि फेला परेकोले संकास्पद वस्तुको डिस्पोजको लागि संखुवासभा बाट नेपाली सेनाको डिस्पोजल टोली आउदै गरेको प्रहरीले जनाएको छ ।