१ फागुन, दमौली । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले नतिजा आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । वन निर्देशनालय पोखराको आयोजनामा तनहुँको बन्दीपुरमा आज आयोजित मन्त्रालय मातहतका कार्यालयको प्रथम चौमासिक समीक्षा कार्यक्रममा उहाँले औपचारिकता मात्रै निभाउने नभई प्रष्ट देखिने गरी नतिजामुखी काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री लम्सालले भने, ‘काम गर्दा श्रद्धा गरेजस्तो मात्रै नहोस्, त्यसको नतिजा प्रष्ट रुपमा देखिनुप¥यो ।’ बजेट खर्च गर्नुभन्दा पनि नतिजामुखी काम सम्पन्न भए त्यसको प्रभावकारिता रहने उनको भनाइ थियो । काम गर्ने सिलसिलामा कुनै ऐन, कानूनले रोकेको भए बाधा फुकाएर काम गर्ने सहज वातावरण बनाउन प्रदेश सरकार तयार रहेको मन्त्री लम्सालले बताए ।

उनले वन र उद्योगमा आधारित रोजगारमूलक व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । तनहुँ र नवलपुरबाहेक अन्य जिल्लामा काठ उत्पादन नबढेकामा चिन्ता व्यक्त गर्दै उनले त्यसतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरे । कार्यक्रममा मन्त्रालय मातहतका जिल्ला वन कार्यालय, पर्वत र तनहुँस्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय, प्रदेशस्तरीय वन्यजन्तु उद्धार पचभैया प्राणी उद्यानको प्रथम चौमासिक प्रगतिमाथि छलफल हुने मन्त्रालयका सचिव यमप्रसाद पोखरेलले जानकारी दिए ।