१६ चैत, काठमाडौं।

कुनै पनि मुलुकका राजदूतहरुले आफ्नो देशको प्रतिनिधित्व गरेका हुन्छन् र सरकारको निर्देशन या इच्छाअनुरुप चल्नु उनीहरुको स्वाभाविक बाध्यता पनि हुन्छ । नेपालका लागि हालै नियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीले पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भावनालाई केन्द्रबिन्दुमा राखेर भारतीय हितमा क्रियाशील रहने सङ्केत दिएका छन्। राजदूत पुरीले कार्यभार सम्हाल्न नेपाल आउँदाआउँदै ‘बडी ल्याङ्ग्वेज’ मार्फत केही रोचक सन्देश दिएको काठमाडौंस्थित बौद्धिक समुदायले अर्थ लगाएका छन्।

गत शनिबार (चैत १२ गते) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राजदूत पुरीलाई स्वागत गर्न गएका भारतीय राजदूतावासका डिसीएम विनय कुमार तथा प्रवक्ता रुवी जसप्रितलगायतले पूर्ण औपचारिक पोसाक लगाएका भए पनि राजदूत पूरी भने विमानस्थलमा मोदी कोटमा देखापरेका थिए। भोलिपल्ट (आइतबार) राष्ट्रपतिसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअगावै पुरीले पशुपतिनाथको दर्शन गरी पूजा-अर्चना गरेका थिए। त्यसरी पशुपतिनाथ दर्शन गर्न जाने क्रममा पनि पुरीले मोदी कोटनै पहिरिएका थिए।

शिख सम्प्रदायका राजदूत पुरीले मोदी कोटप्रति ज्यादा रुचि राख्नुलाई यहाँ विशेष चासोका साथ हेरिएको छ र पुरी मोदीको विशेष विश्वासप्राप्त भएको अनुमान गरिएको छ।

ओहोदाको प्रमाणपत्र बुझाउन जानुअगावै पशुपति दर्शनमा गएर राजदूत पुरीले हिन्दुधर्मप्रतिको आफ्नो आस्था र विश्वास त उजागर गरेकै छन्, उनको यो कदमले नेपाललाई हिन्दूराष्ट्रकै रुपमा कायम राख्नुपर्छ भन्ने सन्देश दिएको अर्थ पनि यहाँ लगाइएको छ। आजको घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।