९ साउन, काठमाडौं ।
नयाँ सरकार निर्माणमा राष्ट्रपतिबाट ‘टाइम वाइङ’ हुन सक्ने अनुमान गर्दै कांग्रेस र माओवादी केन्द्र सभामुखबाट सरकार निर्माणको आह्वान गरेर अघि बढ्ने तयारीमा देखिएका छन् ।

दुबै दल संविधानको संक्रमणकालीन व्यवस्थामा सरकार निर्माण गर्न राष्ट्रपतिले आहान गनुपर्ने कतै पनि उल्लेख नभएको भन्दै राष्ट्रपतिका जानुपर्ने बाध्यता नभएको मान्यतामा छन् । कांग्रेस नेता रमेश लेखकले संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार धारा २९८ बमोजिम गठन हुने सरकारका लागि राष्ट्रपतिले आव्हान गर्ने संवैधानिक व्यवस्था नभएको बताए । ‘संविधानमा संक्रमणकालीन व्यवस्थाको धारा २९८ अनुसार बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आव्हान गर्नुपर्ने व्यवस्था छैन,’ लेखकले भने,‘ अब नयाँ सरकार गठनका लागि सभामुखले आव्हान गनुपर्छ ।’

संविधानको धारा ७६ मा संघीय संसद्बाट बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आव्हान गर्ने स्पष्ट व्यवस्था छ । तर संक्रमणकालीन व्यवस्थाअनुसार अब बन्ने प्रधानमन्त्रीका लागि राष्ट्रपतिले आव्हान गर्ने प्रावधान छैन । संविधानमा स्पष्ट व्यवस्था नभएपछि एमालेबाट हुनसक्ने सम्भावित अवरोध रोक्न सभामुख मार्फत नयाँ सरकार गठनको आव्हान हुनपर्ने विषयमा कांग्रेस र माओवादीबीच छलफल सुरु भएको छ ।