३० साउन, परासी ।

नवलपरासीको बासाबसहीमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० प्रदर्शनकारी घाइते भएका छन् ।

झडपमा परी तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय महासचिव सुरेन्द्रकुमार पटेल, मनरी–१ का कोमलप्रसाद चौधरी, विकास हरिजन र देवगाउँ– ५ का रामा यादव गम्भीर घाइते भएका छन् । उनीहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

शान्तिपूर्णरुपमा आन्दोलन गरिरहेका प्रदर्शनकारी माथि प्रहरीले दमन गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष पुरन चौधरीले बताए ।

प्रहरीले आन्दोलनकारीलाई लक्षित गरी गोली चलाएको आरोप लगाएपनि प्रहरी प्रशासनले भने स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास, हवाईफायर र प्लास्टिकका गोली प्रयोग गरिएको जनाएको छ ।

संयुक्त मधेसी मोर्चा, थारुहट सङ्घर्ष समिति र अखण्ड नवलपरासी सङ्घर्ष समितिले आ–आफ्नो माग राखेर नवलपरासी बन्द गरेका कारण जिल्लाको जनजीवन प्रभावित हुँदै आएको छ ।