५ मङ्सिर , काठमाडौं।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भूपरिवेष्टित देश नेपालको पारवहन अधिकारलाई कुल्चेर भारतले नेपालमा लगाएको नाकाबन्दीविरूद्ध अन्तर्राट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने बताएका छन् ।

पार्टी विदेश विभाग प्रमुख एवम् सांसद सुवालले आज टोखास्थित गणेस्थानमा आयोजित विरोधसभामा स्वदेशी उत्पादनमा वृद्धि गरी देशलाई आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिए।

पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जन र रवीन्द्र ज्याखले मुलुकको राष्ट्रियता तथा स्वाधीनताका विषयमा सबै दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेपालमा भएका विभिन्न खनिज वस्तु तथा पेट्रोलियम पदार्थका खानी खन्ने विषयमा सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

पार्टी काठमाडौँ जिल्ला कमिटी अध्यक्ष नारायण महर्जनले मधेस आन्दोलन देशको आन्तरिक समस्या भएकाले त्यसलाई नेपालीले नै समाधान गर्नुपर्ने बताए । स्थानीयबासी टोखराज डङ्गोलले अहिले मुलुकमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए । रासस