१२, माघ काठमाडौं । थाहा अध्ययन प्रतिष्ठानले नेपालको गौरवशाली इतिहाससँग जोडिएको नालापानी किल्ला संरक्षणका लागि अभियान सुरु गरेको छ ।

हाल भारतको उत्तराखण्डमा पर्ने किल्लाको संरक्षणका लागि प्रतिष्ठानले आज पत्रकार सम्मेलन गर्दै ‘राष्ट्रिय स्वाभिमान पहिचान अभियान’ को थालनी गरेको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीले नयाँ पुस्तलाई इतिहासको वास्तविकता जानकारी गराउने उद्देश्यले अभियान थालिएको बताए ।

नेपालको वीरताको इतिहासको अब खोज गर्ने र नयाँ पुस्तालाई त्यसबारे यथार्थबोध गराउने पनि उनले सुनाए । पत्रकार सम्मेलन काँग्रेस सांसद बीरबहादुर बलायरले नालापानी पुगेपछि आफ्नो राजनीति सार्थक भएको महशुस भएको बताए । एमाले सांसद कर्णबहादुर थापाले नालापानी पुग्दा नेपालमै रहेको जस्तो महशुस भएको बताए ।

माओवादी केन्द्रका सांसद एवं प्रतिष्ठानका महासचिव रामनारायण बिडारीले बलभद्र कुवँर कस्ता बीर थिए भन्ने विषयको अध्ययन हुनुपर्ने बताए । माओवादी केन्द्रका नेता लिलामणी पोख्रेलले बलभद्रको इतिहास भुल्न नहुने भन्दै सरकारले उच्च सम्मान दिनुपर्नेमा जोड दिए ।

थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले वीरताको ऐतिहासिक स्थलमा पुग्दा खुशी लागेको बताइन् । थाहा अध्ययन प्रतिष्ठानका अध्यक्ष अजेयराज सुमार्गीको नेतृत्वमा नेपाली राजनीतिज्ञ व्यवसायी तथा पत्रकारहरुको टोलीले हालै ऐतिहासिक नालापानी किल्लाको स्थलगत अवलोकन गरेको थियो ।