३० भदौ, काठमाडौं ।

सरकारले आउँदो असोज ३ गते व्यवस्थापिका–संसद्मा कर्मचारी समायोजन विधेयक पेश गर्ने भएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था समितिको बैठकले कर्मचारी समायोजन विधेयक आगामी असोज ३ गते पेश गर्ने निर्णय गरेको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिए ।

उनले समायोजन ऐन नबन्दा कर्मचारी खटनपटनमा समस्या भएकाले चाँडै ल्याउन लागिएको बताए । समितिले सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत, सचिव मोहन सापकोटासँग आवश्यक परामर्श गरी विधेयकमा रहेका कुरा टुङ्ग्याउने समेत निर्णय गरेको छ ।

नयाँ संघीय संरचनाअनुसार सरकारले निजामती कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले विधेयक बनाई समितिमा पेश गरेको हो ।