१५ मंसिर, जनकपुरधाम।  नेपाली काँग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यका प्रशंग कपोलकल्पित भएको बताएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा पूर्णतः असत्य हो भने।

नेता निधिले आफ्नो उम्मेदवारी त्याग बारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार छु भने ।

उनले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पारे।

एक प्रश्नको जवाफमा उनले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गरे ।

नेता निधिले देशमा राजनीतिक स्थिरता र मधेश मुद्दाको सम्बोधन सन्दर्भमा संविधान संशोधनका लागि नेपाली काँग्रेसलाई बहुमत दिन मतदातालाई आग्रह गरे । रासस