२५ चैत, बैतडी।

अगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीका १० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत तोकिएका छन् ।

निर्वाचन आयोगले देशैभरि निर्वाचन अधिकृत परिचालन गरेसँगै जिल्लाका चार नगरपालिका र ६ गााउँपालिकामा निर्वाचन अधिकृतको नाम तय गरेको हो । दशरथचन्द नगरपालिकामा एकजना मुख्य मतदान अधिकृतको जिम्मा दिइएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

दशरथचन्द नगरपालिकामा निर्वाचन अधिकृत तथा मुख्य मतदान अधिकृतका रुपमा जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवकुमार शाहलाई तोकेको छ । पाटन नगरपालिकामा मोहन अधिकारी, मेलौली नगरपालिकामा डिल्लीराम बास्तोला र पुर्चौडी नगरपालिकामा शम्भुकुमार बस्नेतलाई निर्वाचन अधिकृत तोकेको छ ।

यस्तै दोगडाकेदार गाउँपालिकामा वासुदेव रिजाल, डिलासैनी गाउँपालिकामा विष्णुप्रसाद ज्ञवाली, सुर्नया गाउँपालिकामा यमप्रसाद बास्कोटा, सिगास गाउँपालिकामा रामकुमार थापा, शिवनाथ गाउँपालिकामा तुल्सीराम गैरे र पञ्चेश्वर गाउँपालिकामा यमप्रसाद ढुङ्गानालाई मुख्य मतदान अधिकृतको जिम्मा दिइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकामस्थित जिल्ला अदालतमा वैशाख ३ गतेसम्म स्थापना गरी काम थाल्ने र अन्य नौवटै तहमा अगामी वैशाख १२ गतेसम्म स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्ने बताइएको छ । रासस