१८ चैत, काठमाडौं ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि गरिरहेको तयारी बारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएको छ ।

राष्ट्रपति भण्डारीसँग प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयुक्तहरुले शितलनिवास पुगेर चुनावको तयारी बारे जानकारी गराएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले स्थानीय तह निर्वाचनका लागि आवश्यक अन्य सम्पूर्ण तयारीका साथ आयोग अगाडि बढिराखेको राष्ट्रपतिलाई जानकारी गराएका थिए । राष्ट्रपतिले आयोगले चुनावका लागि गरिरहेको तयारीप्रति संतोष व्यक्त गरिन् ।

आयोगका पदाधिकारीबाट मतपत्र छपाईको अवलोकन

प्रमुख निर्वाचन आयुक्त डा. यादव सहितको टोलिल आजै सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको मतपत्र छपाई कार्यको अनुगमन गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले केन्द्रमा राम्रो सुरक्षा व्यवस्थाका साथ मतपत्र छपाई भइरहेकोमा प्रशन्नता प्रकट गरे ।