८ वैशाख, काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्बाङले स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर कोही पनि अन्योलमा नरहन आग्रह गरे ।

आज एमाले ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले यहाँ नयाँ वर्ष २०७४ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा उनले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन हुँदैन कि भनेर भ्रममा नपर्न आग्रह गरे ।

उनले मुलुकभर निर्वाचनको वातावरण बनिसकेको बताउँदै निर्वाचन नभए जनताले नै सरकारको प्रतिकार गर्ने धारणा राखे ।

पूर्व सभामुखसमेत रहेका नेता नेम्बाङले मधेसी मोर्चा निर्वाचनका सन्दर्भमा गरेको आन्दोलनको तुक नभएको भन्दै त्यसले निर्वाचनमा कुनै असर नपर्ने बताए । उनले निर्वाचनमा पार्टी एक ढिक्का लागेर लाग्ने भन्दै पार्टीले गुटउपगुटलाई नहेरी सक्षम र योग्यलाई उम्मेदवार बनाउने जानकारी गराए ।

कार्यक्रममा सचिव योगेश भट्टराईले निर्वाचन अब कसैले पनि चाहेर रोक्न नसक्ने दाबी गरे । “देश चुनावमय भइसकेको छ । जनता मतदान गर्न आतुर छन्” उनले भने– “अब कसैले पनि नजिक आएको निर्वाचन रोक्न सक्दैन ।” रासस