१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा सरकारले कांग्रेसको अनुसरण गरेको बताएका छन् । अध्यक्ष थापाले कांग्रेसको पदचिन्ह अनुसरण गर्दै सरकारले प्रदेश प्रमुख पदलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको टिप्पणी गरेका हुन् ।

थापाले नेकपाको सरकारले सोमबार नयाँ प्रदेश प्रमुख नियुक्त भएसँगै यस्तो ट्वीट गरेका हुन् । सरकारले आइतबार नेपाली कांग्रेसको नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्दै सोमबार नै नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेको छ । प्रदेश प्रमुखहरुको कार्यकारी भूमिका नहुने भएता पनि सरकारले यसलाई मनपरी ढङ्गले चलाएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

यसअघि विस २०७४ माघमा नेपाली कांग्रेसको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसनिकट व्यक्तिहरुलाई हतार हतार प्रदेश प्रमुख नियुक्त गरेका थिए । सो समयमा नियुक्त भएका प्रदेश प्रमुखप्रति नेकपाले पनि असन्तुष्टि व्यक्त गरेको थियो । सरकारमा आएपछि नेकपाले आफूले चाहेका प्रदेश प्रमुख नियुक्त गरेको छ ।