२२ फागुन, काठमाडौं । सरकारले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएको जनाएको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यसको बारेमा जानकारी दिएका हुन् । नेपाल भित्रै कोरोनाको संक्रमण नभएकोले बाहिरबाट आउन नदिनलाई सम्पूर्ण ध्यान केन्द्रीत गरिएको हो ।

मन्त्रालयमा आज भएको नियमित पत्रकार सम्मेलनमा उनले केहीदिन अघि एकजनालाई संक्रमित भनिएता पनि उक्त व्यक्ति मानिसमा कोरोनो संक्रमण नेगेटिभ देखिएको बताए । यसका साथै औषधि, मास्क र स्यानिटाइजरको कृतिम अभाव हुने भएकोले त्यस्तो हुन नदिन अनुगमनलाई तीब्र पारिएको मन्त्री खतिवडाको दाबी छ ।

विश्वभर तीब्र संक्रमण फैलिरहेको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म ३ हजार २ सय भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । चीनको वुहानबाट शुरु भएको भाइरसको संक्रमण ७० भन्दा बढी देशहरुमा फैलिइसकेको छ ।