१० असोज, काठमाडौं । त्रिकोणात्मक टि ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । सिंगापुरमा नेपालले दिएको १ सय ३२ रनको लक्ष्य जिम्बावेले १८‍.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालका सन्दिप लामिछानेले तीन खेलाडीलाई शून्य रनमै आउट गराएपनि टिम हार्न पुग्यो । ४ ओभर बलिङ गरेका उनले ३ विकेट लिएर १५ रन मात्रै दिए । पारस खड्काले एक विकेट लिए भने एक खेलाडी रनआउट भए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । ३३ बल सामना गरेका उनले ५ चौका हिर्काए । छैठौं विकेट गुमेपछि क्रिजमा आएका सोमपाल कामीले सानदार प्रदर्शन गरे । पहिलो इनिङमा प्रहार भएका सबै ३ वटै छक्का सोमपालको नाममा रहे । १४ बल खेलेका सोमपाल २५ रनमा अविजित रहे । बिनोद भण्डारी ११ रनमा नटआउट रहे । ओपनिङमा आएका कप्तान पारस खड्काले १८ रनको योगदान गरे ।

सन्दिप जोराले १७, आरिफ शेखले ८, इशान पाण्डेले ४ । कुशल मल्लले २ रन हाने । नेपालले दोस्रो खेल भोली शनिबार सिंगापुरसँग खेल्नेछ ।