२१ फागुन, काठमाडौं।

नेपाल फिफाको पछिल्लो वरियता क्रममा ३ स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा नेपाल १ सय ८५ औं स्थानमा रहेको छ ।

अघिल्लो ८ स्थान उक्लदै नेपाल १ सय ८८ औं स्थानमा रहेको थियो । अघिल्लो महिना बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्डकप जितेपछि नेपालको वरियता क्रममा सुधार आएको हो ।

त्यस लगत्तै भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली यू–२३ टोलीले स्वर्ण पदक जितेपछि बरियतामा माथि उक्लेको हो । फिफाको नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा अफगानिस्तान सबैभन्दा माथी १ सय ५१औं स्थानमा छ ।

त्यस्तै माल्दिभ्स १ सय ५८ औं, भारत १ सय ६० औं, बंगलादेश १ सय ७७ औं स्थानमा छ । नेपालभन्दा पछि पाकिस्तान १ सय ८७ औं, श्रीलंका १सय ८९ औं र भुटान १ सय ९३औं स्थानमा छ ।

फिफा वरियताको शीर्ष १० वरियतामा यथावत छ । बेल्जियम शीर्षस्थानमा छ भने अर्जे्न्टिना दोस्रो, स्पेन तेस्रो, विश्वविजेता जर्मनी चौथो र चिली पाँचौं स्थानमा छ ।