काठमाडौं, २० चैत । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा काठमाडौं उपत्यका बाहेकको मतगणना सकिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार ३ हजार ४ सय ८७ मत गणना हुँदा लोकतान्त्रिक समूहले अग्रता यथावत राखेको छ । ताजा मतपरिणाम अनुसार लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले १ हजार ७ सय ८७ मत ल्याउँदा प्रगतिशील समूहका अध्यक्ष उमेद्वार चण्डेश्वर श्रेष्ठले १ हजार ५ सय ६१ मत पाएका छन् । काठमाडौं बाहिरको मतगणना सकिँदा श्रेष्ठ पोखरेल भन्दा २ सय २६ मतले पछि छन् ।

सबै उपाध्यक्षमा पनि लोकतान्त्रिक समूहको अग्रता छ । अब उपत्यकाका ३८ सय ७४ मत मात्रै गन्न बाँकी छ ।