२३ असार, काठमाडौ । एकीकृत नेकपा(माओवादी)का विदेश विभाग प्रमुख राम कार्कीले नेपाल र भेनेजुयलाबीच आपसी सम्बन्ध विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल–भेनेजुयला ऐक्यबद्धता सञ्जालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले समाजवादी क्रान्तिलाई नयाँ आधारमा विकास गरेको भेनेजुयलाबाट नेपालले सिक्नुपर्ने धेरै विषयहरु रहेको बताए ।

भौगोलिक हिसाबले धेरै टाढा भए पनि दुई मुलुकबीच नजिकको सम्बन्ध भएकाले यसलाई जनस्तरमा थप विकास गर्नुपर्नेमा उहाँले जोड दिए ।

वैदेशिक मामिला अध्ययन केन्द्रका कार्यकारी निर्देशक एवम् मलेसियाका लागि नेपालका पूर्व राजदूत डा ऋषि अधिकारीले समाजवादी क्रान्तिलाई अगाडि बढाइरहेका दुवै मुलुकबीच न्यानो सम्बन्धको विकास गर्नुपर्नेमा जोड दिए ।

संविधानसभाको निर्वाचनमार्फत नयाँ राजनीतिक दिशामा अगाडि बढ्न लागेको नेपालका लागि भेनेजुयलाको संविधान निर्माणको प्रक्रिया अनुकरणीय हुन सक्नेमा उनले जोड दिए ।

नेपालका लागि भेनेजुएलाका गैरआवासीय राजदूत मिलिना सान्ताना रामिरेजले दुई मुलकबीच समान आधारमा सम्बन्धको विकास गर्न आफ्नो मुलुक तयार रहेको बताए ।

नेपालको राजनीतिक परिवर्तनलाई भेनेजुयलाले नजिकबाट नियाली रहेको बताउँदै उहाँले आफ्नो मुलुक समाजवादी क्रान्तिबाटै अगाडि बढेकोले त्यसको अध्ययन नेपालमा भइरहेको थाहा पाउँदा आफूलाई खुसी लागेको धारणा राखेका थिए । रासस