१२ पुस, काठमाडौं ।

नेपाल र चीनले गर्ने संयुक्त सैन्य अभ्यासले भारतलाई टेन्सन भएको भारतीय अखबारहरूले बताएका छन् ।nepal india china map 2024715

भारतीय पत्रिका नवभारत टाइम्समा सचिन पराशरले लेखेको रिपोर्टअनुसार अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारत सम्वन्धमा सन्तुलन राखेको भए पनि चीनसंग नेपालले गर्ने भनेको संयुक्त सैन्य अभ्यासले भारतलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।

चीनले केही दिनअघि मात्र नेपालसंग संयुक्त सैन्य अभ्यासको प्रस्ताव गरेको थियो । चीनको सो प्रस्तावमा नेपालले सहमति जनाएको कुरा यहाँ सार्वजनिक नभए पनि भारतीय अखबारले भारत चिन्तित भएको समाचार प्रकाशित गरेका छन् ।

नेपालले भारत र अमेरिकासंग वारम्वार संयुक्त सैन्य अभ्यास गरे पनि चीनसंग गर्न लागेको यो पहिलो पटक हो । चीनसंगको यो सैन्य अभ्यास अर्को वर्षका लागि प्रस्तावित छ ।

नवभारत टाइम्समा सचिन लेख्छन् – ‘ओली सरकारका पालामा चिसिएको नेपाल –भारत सम्वन्ध दाहाल प्रधानमन्त्री भएपछि भने सुधारोन्मुख थियो । तर, पनि नेपालको चीनप्रतिको झुकावमा परिवर्तन आएको छैन ।’

पत्रिकाले भारतका लागि नेपालका राजदूत दीपकुमारको हवाला दिदैं लेखेको छ ‘यो धेरै सानो स्तरमा गर्न लागिएको अभ्यास हो । यसबाट भारतले चिन्ता गर्नु पर्दैन । नेपाल– भारतको सम्वन्ध अन्यसंग तुलना हुनै नसक्ने खालको भएकाले कसैसंग गरिने सैन्य अभ्यासले दुई देशको सम्वन्धमा केही फरक पार्दैन ।’

पत्रिकाले नेपालमा भारतको प्रभाव कम गर्न चीनले निरन्तर प्रयास गरिरहेको बताउँदै यसमा भारत सजग हुनु पर्ने सुझाव दिएको छ ।