२ असार, धनगढी । आसन्न स्थानीय चुनावको मिति नजिकिँदा नेपाल लोकतान्त्रिक फोरमले कैलाली जिल्लाका ११ स्थानीय तहमा उठाउने उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

उक्त पार्टीले धनगढी उपमहानगरपालिकाको प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरीः प्रमुख र उपप्रमुखमा कैलालीको टीकापुर नगरपालिकामा लौटन चौधरी र सुदेसनी चौधरी, लम्की चुहा नगरपालिकामा अरुण चौधरी र धनादेवी चौधरी, भजनी नगरपालिकामा केवल चौधरी र धनबासी चौधरी, घोडाघोडी नगरपालिकामा चन्द्रकुमार चौधरी र चैतीदेवी विक, गौरीगङ्गा नगरपालिकामा खुसीराम चौधरी र शारदा चौधरी, गोदावरी नगरपालिकामा शारदा केसी र मनीराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य माधव चौधरीले बताए ।

कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा कलेसु चौधरी र उपाध्यक्षमा गीतादेवी चौधरी, जोशीपुर गाँउ पालिका अध्यक्षमा बिरुप्रसाद चौधरी र उपाध्यक्षमा किरण चौधरी, बर्दगोरिया गाँउ पालिका अध्यक्षमा वीरबहादुर डगौरा थारू र उपाध्यक्षमा कृष्णाकुमारी चौधरी र जानकी गाँउपालिका अध्यक्षमा प्रदीपकुमार चौधरी र उपाध्यक्षमा उमा महतोलाई उठाउन लागिएको छ । पार्टीको सङ्गठन नभएको जिल्लाको पहाडी क्षेत्रको मोहन्याल र चुरे गाउँपालिकामा भने उम्मेदवार उठाउने तयारी नभएको केन्द्रीय सदस्य चौधरीले बताए ।

थरूहट/थारूवान प्रदेशको मागसहित लामो समयदेखि आन्दोलन गर्दै आएको तत्कालीन थरूहट तराई पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपालबीच केन्द्रीय स्तरमा हालै एकीकरण भएको थियो । एकीकरणपछि नाम फेरिएको नेपाल लोकतान्त्रिक फोरम हाल सरकारमा सहभागी छ । संविधान संशोधन गर्नुपर्ने आफूहरुको मागलाई यथावत् राखी स्थानीय तहको चुनावमा सहभागी हुने नीति पार्टीको रहेको केन्द्रीय सदस्य चौधरीले बताए । रासस