१९ वैशाख, काठमाडौं।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न निर्देशन दिएका छन् । नेविसंघ अध्यक्ष रन्जित कर्ण लगायत नेतालाई आज बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले ८ वर्षदेखि हुन नसकेको नेविसंघ अधिवेशनको मिति तोक्न निर्देशन दिएका हुन ।

फाइल तस्बिर

फाइल तस्बिर

विद्यार्थी संगठन वा भातृ संगठनको अधिवेशन समयमा नहुँदा संगठनको छवि बिग्रने भएकाले तत्काल अधिवेशनका लागि मिति घोषणा गरेर अघि बढ्न नेविसंघ अध्यक्ष रन्जित कर्णलाई देउवाले निर्देशन दिएका हुन ।

देउवाले नेविसंघ महाधिवेशनका लागि सहयोग गर्न छिट्टै पार्टीका तर्फबाट संयन्त्र समेत गठन गर्ने प्रतिबद्धता पनि जनाएका छन । नेविसंघ अध्यक्ष कर्णले पार्टीको सहयोगविना अधिवेशन सम्भव भएकाले अधिवेशनका लागि सहयोग गर्न पार्टीको संयन्त्र गठन गर्न आग्रह गरेका थिए ।

नेविसंघको अधिवेशन विगत ८ वर्षदेखि हुन सकेको छैन। तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजिनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो । तर नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन । मिति तोकिएर पनि पटक पटक अधिवेशन स्थगित हुँदै आएको छ ।