२७जेठ, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको शुक्रबारदेखि हुने भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधार तथा असमझदारी हटाउने विषयमा केन्द्रित हुने भएको छ । थापा साउथ एसियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन शुक्रबार आउँदैछन् ।

सार्क मन्त्रिपरिषदको हैसियतले थापा दीक्षान्त समारोहमा भाग लिन आउन लागे पनि यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरका रूपमा लिँदै नेपाल र भारत दुवै देशले उच्च प्राथमिकता दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अकस्मात रद्द भएपछि पहिलोपटक दुवै देशबीच उच्चस्तरमा राजनितिक भेटघाट हुन लागेको हो । ‘परराष्ट्रमन्त्रीको भ्रमण राष्ट्रपति भण्डारीको भ्रमण रद्द र मधेस समस्या समाधान लगायतका विषयमा उत्पन्न भ्रम चिर्न केन्द्रित रहने छ,’ स्रोतले भन्यो ।

तीनदिने भ्रमणका क्रममा थापाले उच्चस्तरीय राजनीतिक भेटघाटका साथै भारतीय कूटनीतिज्ञ, विश्लेषक तथा वरिष्ठ पत्रकारसँग नेपाल–भारत सम्बन्धको विषयमा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

थापाले दिल्ली आएकै दिन शुक्रबार ३ बजे इन्डियन प्रेस क्लबमा भारतका ठूला सञ्चार माध्यममा वरिष्ठ पत्रकारहरूमाझ अन्तरक्रिया गर्ने पनि जनाइएको छ ।

‘नेपाल–भारत सम्बन्धका विविध आयामबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ इन्डियन प्रेस क्लबकी ज्योति मलहोत्राले कान्तिपुरलाई बताइन् । यद्यपि भ्रमणको औपचारिक तालिका भने बिहीबार सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४ बजे भारतको पुरानो थिंकट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्बन्धबारे आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन् । जहाँ भारतका उच्च कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग थापाको साक्षात्कार हुनेछ । कार्यक्रममा थापाले नेपाल–भारत सम्बन्धका बारेमा प्रवचन दिनेछन् ।

शनिबार दीक्षान्त समारोहमा भाग लिएलगत्तै थापाको महत्त्वपूर्ण भेटघाटको कार्यक्रम तय भएको छ । दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमेत सहभागी हुनेछिन् ।

थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेट गर्ने तय भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटको आश्वासन पाए पनि समय यकिन भइनसकेको स्रोतले जनाएको छ ।

विभिन्न देशको भ्रमण सकेर मोदी बिहीबार स्वदेश फर्कने र त्यसपछि मात्र भेटको समय यकिन हुने अधिकारीहरूको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ ।