६ चैत, सिरहा । एसएलसी परिक्षा अन्तर्गत हिँजो भएको विज्ञान विषयको परीक्षा बिग्रीएको भन्दै सिरहामा एक छात्राले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।
सदरमुकाम स्थित माउण्ट एभरेष्ट बोडिङ् स्कूल सिरहा परिक्षा केन्द्रमा परीक्षा दिँदै आएकी इटाटार कमलपुरकी माध्यमिक विद्यालय औरहीका छात्रा सन्जुकुमारी पासवानले विष सेवन गरेकी हुन् । परिक्षा अवधीभरी पटक–पटक अनुगमन टोली आएर चेक गरिरहेका कारण ‘एक्शपेल्ड’ हुने डरले होस हवास उडेका कारण लेख्न नसकेको र त्यसैले आफु चिन्तीत भएको उनको भनाई छ ।
उनी एक्जाम्पटेडबाट दोश्रो पटक परिक्षामा सहभागि भएकी हुन् । यस पटक पनि परिक्षामा फेल हुने चिन्ताले पढ्नै मन नलागेपछि मर्नु नै बेस ठानेर विष सेवन गरेको उनले स्विकार गरेकी छिन् । उनको बुबा जटहु पासवानका अनुसार राति करिब १ बजेपछि वाकवाक गर्न थालेपछि मात्रै आफूहरूले विष सेवन गरेको भन्ने अनुमान गरी उपचार गरिएको हो ।
उनको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । यो समाचारले सदरमुकाम आसपासका क्षेत्रमा धेरै हो हल्ला मच्चाएको छ ।