१४ चैत, काठमाडौं । पर्सामा गोली चलेको छ । पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र सुरक्षाकर्मीबीच गोली हानाहान भएको हो ।

नेपाली सेनाले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ भने एक सैनिक घाइते भएका छन् । मृतकको परिचय खुल्न सकेको छैन भने घाइते हुनेमा जमदार मिनबहादुर छन्त्याल रहेका छन् ।

बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फायरिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

निकुञ्जको मुख्य क्षेत्रमा करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको र त्यसको जवाफमा सुरक्षाकर्मीले गोली चलाएको थियो ।