५ साउन, दोलखा । दोलखाको मागापौवा गाविसमा पहिरोको जोखिमका कारण थप ११ घर परिवार विस्थापित भएका छन्। वर्षाका कारण जुनसुकै बेला पहिरो जाने खतरा बढेपछि मागापौवा गाविस सिउरानीका ६० मध्ये ११ परिवार विस्थापित भएका हुन्।

विस्थापित परिवार नजिकैको सिद्धीश्वरी प्राविमा आश्रय लिएर बसिरहेको स्थानीय प्रेमबहादुर तामाङले बताए। यसअघि सिउरानीकै चार घर परिवार विस्थापित भइसकेका छन्।

वातावरणीय प्रभावको विषयलाई ख्यालै नदिई बनाइएका सडकका कारण मागापौवा गाविसको सिउरानी र मुलावारी गाउँ पहिरोको जोखिममा परेको हो।

जिल्लास्थित दैवी प्रकोप उद्धार समितिले पहिरो पीडितको अवस्था बुझ्न स्थलगत निरीक्षणमा जाने निर्णय गरेपनि अझै नपुगेको पीडितहरुले बताएका छन्।