५ असाेज, एजेन्सी ।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसकेको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क पुगेका हुन्। न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए । प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उहाँले जानकारी दिए ।

न्यूयोर्क आउनुअघि उनी साउदी अरब गएका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उनी साउदी युवराजको विमानबाट न्यूयोर्क पुगेका हुन् । दुवै मुस्लिम राष्ट्रका युवराज र प्र्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन् । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।